मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा आइतबार साँझ बुलेट मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा भरतपुर महानगरपालिका-११ निवासी २९ वर्षीय देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका-८ का सागर थापा गम्भीर घाइते भएका थिए।

दुर्घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले देवेन्द्र थापालाई मृत घोषणा गरेका थिए। अर्का घाइते सागर थापाको अवस्था भने सामान्य रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार घटनाको विषयमा थप अनुसन्धान अघि बढाइएको छ।