‘खेल पूर्वाधारमा कर्णाली सक्षम छ, देशलाई नयाँ सन्देश दिनेछ’

काठमाडौं ।घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदको दशौं संस्करण कर्णालीमा पहिलो पटक आयोजना हुँदै छ । यही मंसिर १६ देखि २७ गतेसम्म चल्ने प्रतियोगिताको मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहआयोजक कर्णाली प्रदेश सरकार छन् ।

प्रतियोगिताका खेलहरु आजैबाट सुरु भए पनि औपचारिक उदघाटन भने मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशालामा हुनेछ ।

नयाँ खेलाडी उत्पादन र पूर्वाधार विकासको उद्देश्यले सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पाउनु कर्णालीका लागि आफैंमा यो चुनौती र अवसर हो । यसै सन्दर्भमा प्रतियोगिताको तयारी, व्यवस्थापन, आतिथ्यता, समन्वय र प्रदेशले पाउने लाभबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीसँग अनलाइनखबरका यज्ञ खत्रीले गरेको कुराकानी :

राष्ट्रिय उत्सवका रूपमा हेरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पहिलो पटक कर्णालीमा आयोजना हुँदै छ । यसको तयारी कस्तो चलिरहेको छ ?

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र छ । यति ठूलो प्रतियोगिताको आयोजना कर्णालीमा हुँदै गर्दा यसलाई हामीले अवसर र चुनौती दुवै रूपमा हेरेका छौँ । र, यसलाई एउटा राष्ट्रिय उत्सवका रूपमा मनाउनु पर्छ भनेर प्रदेश सरकारका सबै संयन्त्र तयारीमा जुटेको छ । मुख्य आयोजक समेत रहेको राष्ट्रिय खेलकुद परिषद् पनि तीव्र तयारीमा लागिरहेको छ ।

आयोजनालाई भव्य रूपमा सफल बनाउनका लागि विभिन्न १४ वटा उपसमितिहरू बनेका छन् । त्योमध्ये प्रदेश सरकार मातहत हामीसँग चार वटा उपसमितिका संयोजक मात्र छन् । बाँकी सबै उपसमितिका संयोजक राखेपले नै राखेको छ । सुरुमा राखेपका केही संयोजक र सदस्यहरू यहाँ आइपुग्न ढिला भएकाले कतिपय तयारी अपुग जस्तो देखिएको थियो । तर पछिल्लो समय उहाँहरू सबै उपसमितिका संयोजक र पदाधिकारीहरू आयोजना स्थलमा पुगेर धमाधम तयारी थालिरहनु भएको छ ।

भौतिक पूर्वाधारतर्फ मैले दुई दिनअघि नै पुगेर सबै कुरा हेरेको थिएँ । रङ्गशालामा लाइटिङ र भित्री खेल सामग्रीको सेटअपजस्ता काम तीव्र रूपमा भइरहेका छन् । केही अपुगता छन्, तर राखेपले टेन्डर गरेर ती सामग्री ढुवानी प्रक्रियामा रहेको र आउँदै गरेको जानकारी पाएका छौँ । त्यो पनि आयोजनाको उदघाटनसम्म सबै काम सम्पन्न हुन्छ । सोही अनुसार हामीले उपसमिति र टोलीहरू खटाइरहेका छौँ ।

प्रतियोगितामा देशभरबाट कति संख्यामा खेलाडी र आगन्तुक आउलान् । उदघाटन समारोहमा कति खेल प्रेमीहरूको उपस्थिति रहने अनुमान छ ?

उदघाटनमा कति जनालाई आमन्त्रण गर्ने भन्ने अझै टुङ्गिएको छैन । यो राखेप र केन्द्रले नै टुङ्गो लगाउने विषय हो । त्यसमा हामीसँग पनि छलफल हुन्छ होला । तर अहिलेसम्म टुङ्गो लागेको छैन । केही दिनमा संघीय खेलकुद मन्त्री नै यहाँ आउने कार्यक्रम रहेको छ । उहाँ आएपछि उदघाटनमा कति सहभागी हुन्छन्, कुन–कुन भीआईपी र पाहुना आउनुहुन्छ भन्ने कुराको टुङ्गो लाग्ने छ ।

जिम्मेवारीको तहबाट हुनुपर्ने रचनात्मक समन्वयमा केही कमी देखियो । राखेपले मात्र कमी गरेको भन्न मिल्दैन, यसमा हाम्रो पनि केही कमी कमजोरी भए होलान्

खेल हेर्न आउने दर्शकको संख्या पनि अहिले नै यकिन भइसकेको छैन । प्रदेशका खेलाडीहरू, सबै प्रदेशका खेलकुद विकास परिषद्का पदाधिकारी लगायतको टोली कति आउने भन्ने औपचारिक जानकारी अझै प्राप्त भएको छैन । त्यसलाई पनि यकिन गर्न लागिरहेका छौँ । खेलाडी र प्रतिनिधिहरू १० हजार बढी आउने टुङ्गो लागेको छ । अरू टुङ्गिँदै छ ।

बाहिरबाट आएका खेल प्रेमी वा अतिथिले सुर्खेतमा बासस्थान नपाएर फर्किनुपर्ने स्थिति आउन नदिन तपाईँहरूले के कस्तो व्यवस्थापन गर्दै हुनुहुन्छ ?

खेलाडीको बसोबास मंसिर आठ गतेबाट नै सुरु भएको छ । खेलाडीका लागि ३ हजार ५०० जनाको दरले तीन सिफ्टमा व्यवस्था गर्ने गरी होटेल व्यवसायीसँग कुराकानी भएको छ । खेलाडीतर्फ समस्या देखिँदैन । सबै होटेल जोड्दा सुर्खेतमा १० हजार ५०० जना खेलाडीको बसोबास व्यवस्थापन भइसकेको छ । तर खेलप्रेमी ठूलो मात्रामा आउन सक्छन् ।

बाहिरबाट अन्य व्यक्तिहरू कति आउँछन् भनेर आकलन गर्न सकिरहेको छैन । नजिकका जिल्ला र क्षेत्रबाट कति दर्शक आउँछन् भन्ने ठ्याक्कै भन्न सकिने स्थिति पनि छैन । आठौँ र नवौँ राष्ट्रिय खेलमा कति सहभागी थिए भन्ने सन्दर्भ भने आकलन गर्न सकिन्छ । सल्यान, दैलेख, रुकुम, कालिकोटजस्ता नजिकका जिल्ला, बाँके, बर्दिया र कैलाली, कञ्चनपुरबाट पनि कतिपय मानिस दुई–तीन दिन खेल हेर्न आउने सम्भावना देखिन्छ ।

उहाँहरूका लागि पनि हामीले केही होटेलहरूलाई तयारी अवस्थामा राखेका छौँ । मुख्य कुरा, धेरै दर्शक आउँदा कसैले होटेल नपाउने वा बढी महँगो तिर्नुपर्ने अवस्था नआओस् भन्नेमा हामी सचेत छौँ । त्यसका लागि बसोबास व्यवस्थापन उपसमिति नै बनेको छ । त्यो उपसमितिले मसिनो गरी काम गरिरहेको छ । सुर्खेतमा आउने कुनै पनि पाहुनाले बस्न र खान नपाउने स्थिति आउँदैन । हामी त्यसो हुन दिँदैनौँ ।

पहिलो पटक राष्ट्रिय खेलकुदको आयोजना गरेको कर्णाली दशौँबाट कस्तो राष्ट्रिय सन्देश दिँदै छ ? विगतभन्दा कर्णालीले के नयाँपन दिनेछ ?

मुख्यत: ठुला राष्ट्रिय प्रतियोगिताहरूको उत्कृष्ट व्यवस्थापन सहितको आयोजना गर्न कर्णाली सक्षम छ भन्ने सन्देश दिने छ । भव्य खेल संरचनाको निर्माण, बसोबासको व्यवस्थापन र अतिथिहरूको स्वागत संस्कारमा पनि कर्णालीले एउटा नयाँ सन्देश दिने गरी हामीले तयारी थालेका छौँ । हामीले जुन खेल पूर्वाधार संरचना निर्माण गरेर तयारी गरिरहेका छौँ, त्यसले आफैँ सकारात्मक सन्देश दिइरहेको छ । र, खेल पूर्वाधारमा कर्णाली कमजोर छैन भन्ने देखाएको छ । विगतमा कर्णालीले यति ठूलो प्रतियोगिताको आयोजना गर्न सक्दैन कि भन्ने थियो तर अब सक्छ भन्ने कुराको प्रमाणित गरेको छ । नकारात्मक भाष्यलाई चिर्ने तयारीका साथ १० औँको आयोजना गरिरहेका छौँ ।

कर्णाली कम छैन, कर्णालीले गर्न सक्छ भन्ने कुरा देखाउन चाहन्छौँ । व्यवस्थापनको सानो–सानो पक्ष अर्थात् माइक्रो म्यानेजमेन्टमा ध्यान दिइरहेका छौँ ।

प्रचारप्रसार, सरसफाइ, नजिकका पर्यटकीय क्षेत्रमा जाँदाको यातायात सहजता जस्ता कुरा पनि कर्णालीले उदाहरण सेट गर्ने छ । यातायात सहजताका लागि हामीले ‘राइड सेयरिङ’ नै सुरु गरेका छौँ । त्यसका लागि कानुन नै ल्याएका छौँ । त्यसले नजिकका ठाउँमा जान पर्यटकहरूलाई सहज बन्ने छ । मानिस आउँदा कसैलाई केही नहोस्, दशौँ राष्ट्रिय खेलमा जाँदा हामी सुरक्षित रह्यौँ भन्ने अनुभूति होस् भनेर सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएका छौं ।

यो क्षेत्र काली–कर्णाली र सिञ्जा सभ्यताको विरासत बोकेको भूगोल पनि हो । देशलाई भाषा, संस्कृति र सभ्यता दिने प्रदेश पनि हो । उदघाटनको दिन आफ्नो पहिचान र सभ्यता झल्काउने के–कस्ता प्रस्तुतिहरू रहने छन् ?

नेपाली भाषाको उद्गम थलो नै जुम्लाको सिञ्जा हो । कर्णालीले नेपाली भाषा मात्रै दिएको छैन । सिञ्जा सभ्यता समेत दिएको छ । यो क्षेत्रका आफ्नै मौलिक संस्कृतिहरू छन् । जो अहिले पनि लुकेर बसेका छन् । पञ्चेबाजा, देउडा र हुड्के जस्ता हाम्रा मौलिक झाँकीहरू उदघाटन सत्रमा प्रस्तुत हुनेछन् । दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते राउटे समुदायको छुट्टै प्रस्तुति रहने छ ।

मयुर नाच, सिँगारु, पैसेरु नाचहरू रहने छन् । हिमाल, पहाड र तराई झल्किने संस्कृति र भाषिक पहिचान झल्किने पोसाक सहितको प्रदर्शनी रहने छ । थारु, मगर, भोटे लगायतका समुदायहरूको मौलिकता झल्किने प्रस्तुतिहरु पनि रहने छन् । त्यसका लागि पनि एउटा छुट्टै उपसमितिले काम गरिरहेको छ । हामीले देशलाई एउटा नयाँ चित्र देखाउने छौँ ।

यस्ता राष्ट्रिय खेलकुद प्रतियोगिताहरूले स्थानीय स्तरमा ठूलो व्यापार सिर्जना समेत गर्छ । पर्यटन, होटेल व्यवसाय र अन्य क्षेत्रमा कस्तो हाइप पाउनुभएको छ ? व्यवसायीक क्षेत्रमा कर्णालीले पाउने लाभ के हो ?

पहिलो लाभ त खेलकुद क्षेत्रमै हो । यो प्रतियोगिताको मुख्य उद्देश्य नै घरेलु खेलकुदको प्रवर्द्धन गर्नु हो । यसले गर्दा यहाँका युवा खेलतिर आकर्षित हुनेछन् । हाम्रा खेल पूर्वाधारहरू थप मजबुत हुन्छन् । खेलाडी उत्पादन गर्न सबै पालिकाहरूले पनि खेलकुद क्षेत्रमा बजेट व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश जानेछ । यो आयोजनाले त्यस्तो वातावरण सृजना गर्नेछ ।

अहिले पनि दैलेखको गुराँस गाउँपालिकाले एक महिनासम्म खेलकुद महोत्सव गरेर पालिकाभरिका युवालाई विभिन्न खेलमा संलग्न गराएको देखिन्छ । हुम्लाको ताजाकोमा पनि अतिरिक्त क्रियाकलाप सप्ताह राखेर खेल क्षेत्रको प्रवर्द्धन गरिरहेको छ । यसरी मानिस खेल क्षेत्रसँग जोडिन्छन् ।

यो आयोजनाले पर्यटन क्षेत्र र होटेल व्यवसायलाई ठूलो लाभ मिलेको छ । भोलिका दिनमा हामीले व्यवस्थित गर्न सक्यौँ भने यहाँ बेलाबेला विभिन्न स्तरका खेल प्रतियोगिता गर्न तयार छौँ भन्ने सन्देश जान्छ । यहाँका होटेल व्यवसायीहरू, पानी उद्योग, पर्यटन व्यवसायीदेखि सामान्य डोकोमा बदाम बेच्नेहरूले समेत व्यापार गर्ने अवसर पाउँछन् । यसले ठूलो बिजनेस सिर्जना गर्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षा लिएका छौं ।

यो आयोजनाको सर्वाधिकार मुख्य आयोजक संघीय सरकार र राखेपसँग छ । प्रदेश सरकारलाई जुन स्वामित्व र अधिकार दिनुपर्ने थियो, त्यो नदिँदा व्यवस्थापनमा चुनौती बनेको देखिन्छ । यसले गर्दा सहकार्य र समन्वयमा केही असहजता भएको हो ?

पक्कै पनि समन्वयको पाटोमा केही कमी कमजोरीहरु देखिन्छ । जिम्मेवारी अनुरूपको समन्वय एउटा कुरा हो । नीतिगत पक्ष अर्को कुरा हो । नीतिगत हिसाबले सबै आयोजक राखेप भएकाले उसको भूमिका बढी देखिन्छ । राखेपको सचिवालय यहीँ बसेर दशौँ राष्ट्रिय खेलको सचिवालय सञ्चालन गर्ने भनिएको थियो, तर त्यो जति चुस्त हुनुपर्ने थियो त्यति हुन सकेन ।

नीतिगत रूपमा जे हुनुपर्ने हो त्यो भइरहेकै छ । जिम्मेवारीको तहबाट हुनुपर्ने रचनात्मक समन्वयमा केही कमी देखियो । राखेपले मात्र कमी गरेको भन्न मिल्दैन, यसमा हाम्रो पनि केही कमी कमजोरी भए होलान् । स्थानीय तहको पनि केही कमी हुन सक्छ । दुई सरकारबिच मिल्नुपर्ने कुरा हो ।

पोखरामा सम्पन्न नवौँमा पनि केही कमजोरीहरु देखिएका थिए । कसैमाथि आरोप लगाउने मेरो उद्देश्य होइन । हामी सबैमा रचनात्मक समन्वयको कमी देखिन्छ, अभाव भन्नुभन्दा ‘अलिक कमी’ भन्न रुचाउँछु ।

हुन त यति बेला कसैको कमी कमजोरी औँल्याएर बस्ने समय होइन । तर केही समन्वयको अभाव हुँदा भोलि व्यवस्थापनमा कमजोरी देखिए त त्यसको अपजसको भरी कर्णालीले खेप्नुपर्ने हुन्छ । त्यसो हुन नदिन हामीले सबैलाई एकै ठाउँमा ल्याएर काम गरिरहेका छौँ ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष र सदस्य सचिवबिचको विवादका कुरा बाहिर खुब सुनिन्छ । उहाँहरूको आन्तरिक किचलोले यति ठूलो आयोजनाको व्यवस्थापनमा असर पर्ने त होइन ?

मैले उहाँहरूसँगै बसेर छलफल पनि गरेको छु । बाहिर सुनिए जस्तो उहाँहरूबिच त्यस्तो तिक्तता छैन । उहाँहरू बिचको व्यक्तिगत असन्तुष्टिले समग्र आयोजनालाई नै प्रभावित पार्ने केही कामहरू हुनु भएन भन्ने नै हो ।

उहाँहरूबिच समन्वयात्मक भूमिकामा केही कमजोरी देखिएको होला । आफ्नो जिम्मेवारीमा भने उहाँले काम गरिरहनुभएको छ । अपेक्षाअनुसार कति गर्नुभयो वा कम गर्नुभयो, त्यो अर्को पक्ष हो । कार्यक्रमगत समन्वय उहाँहरूबिच भइरहेकै छ । तर मैले भावनात्मक समन्वयको अभाव भएको हो कि जस्तो देख्छु । रचनात्मक समन्वयजस्तै यहाँ भावनात्मक सम्बन्ध पनि चाहिन्छ । हाम्रो एउटै टिम हो भन्ने भावनाको अलिकति अभाव देखिएको जस्तो लागे त्यो पनि अहिले उहाँहरूले सच्याइ सक्नु भएको छ । त्यसले आयोजनाको व्यवस्थापनमा असर पर्दैन भन्नेमा म विश्वस्त छु ।

समग्र खेलाडी, खेलप्रेमी र देशलाई के भन्न चाहनुहुन्छ ?

दशौँ राष्ट्रिय खेलकुद हाम्रो कर्णालीमा हुँदैछ र हामी सबै पक्षबाट तयारीमा लागिरहेका छौँ । म देशैभरका सबै खेलप्रेमी, खेल जगतका व्यक्तित्व र सबै समुदायलाई यो प्रतियोगितामा उपस्थित भइदिन अनुरोध गर्छु । र, निमन्त्रणा पनि दिन चाहन्छु ।

चुनौतीहरू छन् । तर चुनौतीको सामना गर्नुबाहेक हामीसँग विकल्प छैन । चुनौतीबाट पछि हट्ने होइन, सामना गरेर परिणाम निकाल्ने हो । हामीले सुखद परिणामकै अपेक्षासहित कार्यक्रम बनाएर यहाँसम्म आइपुगेका छौँ । केही चुनौती छन्, तिनको सामना गर्दै अघि बढ्छौँ । कर्णालीले केही अपुग र अभावकाबिच पनि उत्कृष्ट व्यवस्थापन मार्फत देशलाई नयाँ सन्देश दिने छ । सोही अनुसार नै हामीले काम गरिरहेका छौं ।