पेस्तोलबाट गोली चलाउने तीन जना पक्राउ, हतियार र दुई राउन्ड गोली बरामद

काठमाडौँ । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज १७ गते राति करिब ११:४५ बजे देवदह नगरपालिका-५ खैरेनीस्थित एक होटेलमा गोली प्रहार भएको थियो।

प्रहरीका अनुसार देवदह नगरपालिका-५ स्थायी घर भएका ४२ वर्षीय दीपक खरेल भनिने दुर्गा प्रसाद खरेलले पेस्तोलबाट दुई राउन्ड गोली प्रहार गरेका थिए। घटनामा देवदह नगरपालिका-१ मिलनचोक बस्ने ३२ वर्षीय रायम खत्री क्षेत्रीको दाहिने गुल्फोमा गोली लागेको प्रहरीले जनाएको छ।घाइते क्षेत्रीको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ।

घटनापछि खटिएको प्रहरी टोलीले मुख्य आरोपित खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने अन्यमा देवदह नगरपालिका-५ मितेरी गाउँका ३८ वर्षीय कमल शर्मा र सोही ठाउँका १८ वर्षीय अमृत खरेल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ।घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।