काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। गएराति वासिङ्टन डी.सी. पुगेका उनलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका पदाधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री एवं सेक्रेटरी अफ द ट्रेजरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग सोमबार छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा द्विपक्षीय आर्थिक सहयोग विस्तार, एफएटीएफ (FATF) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा गहन छलफल हुनेछ।
यसैगरी, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउने विषयलाई पनि भ्रमणमा प्राथमिकता दिइएको छ। अर्थमन्त्री वाग्लेले इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (DFC) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग समेत छलफल गर्नेछन्। विशेष गरी सडक र विद्युत् प्रसारण लाइनलगायतका पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी आकर्षित गरी मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य यस भ्रमणको रहेको छ।






























