काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशन स्थल खुलामञ्चसहित प्रतिनिधि बस्ने होटेल र नेताहरूको आवतजावत हुने क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे खुलामञ्चमा हुँदै छ। उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ। विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न देशका प्रतिनिधिसमेत उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ।
सुरक्षा निकायको संयुक्त परिचालन
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, नेता तथा अतिथिको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), ट्राफिक प्रहरी तथा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ।
महाधिवेशन स्थलमा सुरक्षा जाँचका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ। प्रतिनिधि बसेका होटेल तथा शीर्ष नेताहरूको आवतजावत बढी हुने क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।
मुख्य क्षेत्रमा अतिरिक्त प्रहरी
काठमाडौँ प्रवेश गर्ने विभिन्न चेकपोस्टसँगै सुन्धारा, बागबजार, ठमेल र दरबारमार्गलगायत क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ।
महाधिवेशनका कारण हुने भिडभाड, विशिष्ट व्यक्तिहरूको आवागमन तथा सहभागीहरूको सुरक्षालाई ध्यानमा राखेर महाधिवेशन स्थल र आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।































