काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
द्घाटनपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) सुशीलसिंह राठौरले चाडपर्वमा अन्य समयको तुलनामा यात्रु धेरै बढ्ने भएकाले सबैलाई सुरक्षित गन्तव्यमा पुर्याउनु सबैको दायित्व रहेको बताए ।उनले क्षणिक स्वार्थका लागि यात्रुलाई ठग्ने, लुट्ने, झुक्याउने गरेमा कारबाही हुने जनाउँदै यात्रुलाई पनि सावधानी अपनाउन आग्रह गरे ।
सवारी सञ्चालनको बेलामा मापसे र लापसे नगर्न पनि उनले सबै सवारी चालकसँग आग्रह गरे ।‘टिकटको नाममा हुने कालोबजारी अन्त्य गर्न प्रहरी चनाखो हुन्छ । यात्रुहरूले पनि टिकट लिएर यात्रा गरिदिन आग्रह छ,’ एआईजी राठौरले भने ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाले विगतको वर्षभन्दा यस वर्ष चाडपर्वमा यातायात सञ्चालनमा केही समस्या रहेका बताए ।
देशभर परेको अविरल वर्षाले अधिकांश राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या परेको उनले बताए ।अध्यक्ष सिटौलाले समस्याको घडीमा पनि सुरक्षित तबरले सवारी सञ्चालन गरेकामा देशभरका चालकलाई धन्यवाद दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताए । उनले चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।






























