अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति अझ बढाइरहेको छ। करिब ९ हजार सैनिकसहित अमेरिकाले आफ्नो युद्धपोत थियोडोर रुजवेल्ट पनि यस क्षेत्रमा पठाउँदै छ।
हाल यूएसएस जर्ज डब्लु बुस र यूएसएस जर्ज वासिङ्टन त्यहाँ पहिल्यैदेखि तैनाथ छन्। रुजवेल्टको तैनाथीपछि अक्टोबरको अन्त्यसम्ममा पश्चिम एसियामा तीनवटा अमेरिकी एयरक्राफ्ट क्यारियरहरू हुनेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमणको चेतावनी दिइरहेका बेला यो कदम चालिएको हो।
उनले नोभेम्बर ३ मा हुने मध्यावधि चुनावपछि इरानमाथि आक्रमण हुन सक्ने बताएका थिए। यसअघि उनले इरानको युद्धविराम प्रस्तावलाई पनि अस्वीकार गरिसकेका छन्।
ट्रम्पको आदेश कुरिरहेछ अमेरिकी सेना
अल जजिराल् अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, नोभेम्बरको अन्त्यसम्ममा इरानको वरपर अमेरिकाका ३ वटा युद्धपोत र २ वटा मरिन युनिट तैनाथ हुन सक्छन्।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको आदेश दिएमा अमेरिकी सेना त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका थिए
टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानको हालैको युद्धविराम प्रस्ताव आफूले अस्वीकार गरेको बताएका थिए।
इरानले होर्मुज स्ट्रेटलाई पुनः खुला गर्ने प्रस्ताव पनि राखेको थियो, तर ट्रम्पका अनुसार यो प्रस्ताव अमेरिकाका लागि पर्याप्त थिएन।
उनले नोभेम्बर ३ को चुनावपछि इरानमाथिको बमबारी बढाउने सम्भावनालाई नकार्न नसकिने पनि बताएका थिए।
अमेरिका र इरानबीच जारी युद्धलाई लिएर ट्रम्पले गत हप्ता संयुक्त राष्ट्रसङ्घको महासभामा आफूले चाहेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने बताएका थिए।
अमेरिकाले इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु नै युद्धको प्रमुख उद्देश्यमध्ये एक भएको बताउँदै आएको छ।
इरानले युद्ध अन्त्य गर्न राखेको थियो ७ दिने प्रस्ताव
इरानले युद्ध अन्त्य गर्न अमेरिकासमक्ष सात दिने प्रस्ताव राखेको थियो। जसमा होर्मुज जलडमरु पुनः खुला गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने कुरा समावेश थियो। तर, अमेरिकाले यो प्रस्तावलाई खारेज गरिदियो।
इरानका विदेशमन्त्री अब्बास अरागचीका अनुसार इरान सम्झौताअन्तर्गत होर्मुज जलडमरु खोल्न तयार छ। तर यसको बदलामा उसले विदेशमा रोक्का राखिएका आफ्ना सम्पत्ति र पैसा फुकुवा हुनुपर्ने र आफ्नो तेल बेच्न पाउनुपर्ने सर्त राखेको छ।
उनले यी मागहरू गत जुन महिनामा अस्थायी युद्धविरामका लागि भएको समझदारी पत्र जस्तै भएको बताए। यद्यपि, दुवै पक्षबाट भएका जवाबी आक्रमणहरूपछि उक्त सम्झौता भङ्ग भएको थियो।
फेब्रुअरी २८ देखि चलिरहेको छ अमेरिका-इरान युद्ध
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए। यसको जवाफमा इरानले इजरायल र अमेरिकी सैन्य अखडा रहेका खाडी देशहरूमा आक्रमण गरेको थियो।
अमेरिकाले आफ्नो उद्देश्य इरानको परमाणु क्षमतालाई कमजोर पार्नु भएको बताउँदै आएको छ। उता, इरानले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको र आफूलाई परमाणु प्रविधिको प्रयोग गर्ने अधिकार रहेको दाबी गर्दै आएको छ।






























