दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा बनेको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको सात वर्ष बितिसक्दासमेत प्रयोगविहीन बनेको छ। ३८ लाख रुपैयाँभन्दा बढीको लागतमा बनेको सो पुलसम्म पुग्ने मूल बाटो नहुँदा स्थानीय बासिन्दा पुल भएर पनि खोला तर्न समस्या झेल्न बाध्य भएका छन्।
विसं २०७५ वैशाख २ गते मालिकार्जुन गाउँपालिका र स्थानीय उपभोक्ता समितिबीच ७७.४० मिटर लम्बाइ र १०६ सेन्टिमिटर चौडाइ रहेको सो झोलुङ्गे पुल निर्माणका लागि सहकार्य भएको थियो। प्राविधिक सहयोग गर्ने संस्था समाज कल्याण समाजका ओभरसियर हरिश ठगुन्नाका अनुसार कुल ३८ लाख ६५ हजार २०८ रुपैयाँको लागतमा आर्थिक वर्ष २०७६/७७ मा पुल निर्माण सम्पन्न भएको थियो।
बाटो अभावले प्रयोगविहीन पुल निर्माणका क्रममा सुरुको जग्गाधनीले खेतको मुआब्जा लिए तापनि त्यसभन्दा तल अर्का व्यक्तिको जमिन परेकाले मूल बाटो जोड्ने ठाउँ पाउन सकिएको छैन। जग्गाधनीले बाटोका लागि जमिन नदिँदा ३८ लाख खर्चेर बनेको संरचना प्रयोगविहीन बनेको स्थानीयको भनाइ छ।
मालिकार्जुन गाउँपालिका–४ का कार्यवाहक वडाध्यक्ष इन्द्रसिंह धामीका अनुसार अघिल्लो आर्थिक वर्षमा वडा कार्यालयबाट पुलसम्म पुग्ने घोरेटो बाटो निर्माणका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि जग्गाधनीले खेतबाट बाटो बनाउन अनुमति नदिँदा काम अघि बढ्न सकेन।
स्थानीय सरकार मूकदर्शक, सेवाग्राहीलाई सास्ती पुल बनेर पनि प्रयोगमा आउन नसकेपछि स्थानीयवासीले वडा कार्यालय र गाउँपालिकालाई मौखिक तथा लिखित रूपमा पटक-पटक ध्यानाकर्षण गराउँदै आएका छन्। तर, स्थानीय सरकारले ठोस कदम चाल्न नसक्दा समस्या जस्ताको तस्तै रहेको स्थानीयको गुनासो छ।
पुल सञ्चालनमा नआउँदा हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुर जाने विद्यार्थी, मालिकार्जुन–४ को वडा कार्यालय तथा स्थानीय स्वास्थ्य चौकी जाने सेवाग्राहीहरू विशेषगरी बर्खायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।































