प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सांसद राईको माग

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको विवादास्पद अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै सांसद राईले नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले दिएको वक्तव्यप्रति गम्भीर आपत्ति जनाएका हुन्। प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाका विषयमा गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ।

संसद्को रोस्ट्रमबाट बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त भनाइप्रति खेद व्यक्त गरे। उनले संसद्को गरिमा र मर्यादा कायम राख्नका लागि उक्त विवादास्पद अभिव्यक्ति तत्काल संसदको आधिकारिक अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसमक्ष माग गरे।

श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई संसद्मा मुख्य एजेण्डा बनाएर सशक्त आवाज उठाउँदै आएको छ।