सुनका गहना चोरी आरोपमा एक जना पक्राउ

काठमाडौँको एक घरबाट सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले रामेछापका एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका–१ घर भई हाल काठमाडौँ बस्दै आएका २३ वर्षीय दीपेश मग्रान्ती रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मग्रान्तीले भदौ २९ गते काठमाडौँस्थित एक आवासबाट करिब १३८ ग्राम बराबरका सुनका गरगहना चोरी गरेका थिए। घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोही दिनको साँझ उनलाई चोरी गरिएका गहनासहित पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका मग्रान्तीमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित वृत्तमा पठाइएको प्रहरीले जनाएको छ।