कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु

भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडक खण्ड अन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटानको कार्य शुरु गरिएको छ ।

बाढीले सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीकाअनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ ।

 

सडक मर्मत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ । नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्शाङ्कन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सुचारु गर्ने काम औपचारिक रूपमा शुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिए।

हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउनका लागि आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन् ।