काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका छन्।
महानगरपालिकाका मेयर बालेन साहको निर्देशनलाई अवज्ञा गर्दै उनीहरुले आज सो निर्णय गरेका हुन् ।
बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा ‘अर्को सूचना नभएसम्मका लागि माइतिघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरु उपस्थित हुन’ अनुरोध गरिएका छ।
‘आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न विदाका दिनमा पठनपठन गरिने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ८०० शिक्षक छन् । उहाँहरूले आन्दोलन हुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । आन्दोलनका कारण जति दिन विद्यालय बन्द गरियो त्यति दिन बिदाको समयमा पठनपाठन गरिने प्रधानाध्यापक गौतमले बताए ।
महानगरले बुधबारै एक विज्ञप्ती जारी गर्दै बन्द गरेर पठनपाठन प्रभावित गरेको खण्डमा त्यस्ता शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।