काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (जनपद) पदको खुला प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। अन्तिम छनोट प्रक्रियाबाट २९ जना उम्मेदवार नियुक्तिका लागि सिफारिस भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागअन्तर्गतको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शनिबार नतिजा सार्वजनिक गरेको हो। २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनअनुसार सञ्चालन भएको सक्षमता परीक्षण तथा अन्तर्वार्तामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रमका आधारमा अन्तिम नतिजा निर्धारण गरिएको प्रहरीले जनाएको छ।
अन्तिम नतिजामा उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारको नामावलीसमेत सार्वजनिक गरिएको छ। नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारलाई आवश्यक कागजातसहित तोकिएको समयमा प्रहरी प्रधान कार्यालयमा सम्पर्क गर्न भनिएको छ।
उम्मेदवारहरूले उपस्थित हुँदा प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र र त्यसका दुई–दुई प्रति प्रतिलिपि तथा पासपोर्ट साइजका चार प्रति फोटो अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
प्रहरीका अनुसार सिफारिस भएका उम्मेदवारहरू भदौ १५ गते सोमबार बिहान १० बजे नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाडौंमा उपस्थित हुनुपर्नेछ।
प्रहरी निरीक्षक पदको अन्तिम नतिजासँगै मुख्य तथा वैकल्पिक उम्मेदवारहरूको नाम र योग्यताक्रम पनि सार्वजनिक गरिएको छ। उम्मेदवारहरूले नेपाल प्रहरीको आधिकारिक सूचनामार्फत आफ्नो विवरण हेर्न सक्नेछन्।

































