कञ्चनपुर । टीकापुर घटनामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेको तीन जना संविधान दिवसका दिन (बुधबार) रिहा भएका छन् ।
संविधान दिवसका अवसरमा कैद माफी पाएपछि टीकापुर हत्याकाण्ड प्रकरण कसुरमा जेल जीवन बिताइरहेका तीन जना छुटेका हुन् ।
कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भएका छन् । तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा भएका हुन । टीकापुर नगरपालिका-४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७ मोतीपुरका हरिनारायण चौधरी र जानकी-७ लट्कनियाका प्रदीप चौधरी रिहा भएका छन् ।
उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।