काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन्। उनलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै किराँतीले आफूहरूको एकता जनताको चाहना र दबाबअनुसार भएको बताएका छन्। उनले यसलाई “ऐतिहासिक घडी” को संज्ञा दिँदै परिवर्तन चाहने नागरिकको भावनाअनुसार आफूहरू एक ठाउँमा आएको दाबी गरे।
उनले भने, “एकता ऐतिहासिक घडी हो। सम्पूर्ण जनताले दबाब दिनुभयो, जनताको चाहनाअनुसार नै यो एकता भएको हो। आँखामा सपना, मनमा बाचा, काँधमा जिम्मेवारी र छातीमा इमानदारिता बोकेर हामी यो ऐतिहासिक कार्यक्रममा सहभागी भएका छौं।”
किराँतीले जनताको आदेशलाई सम्मान गर्दै आफूहरूले नयाँ राजनीतिक सहकार्य अघि बढाएको उल्लेख गरे। उनले अब देशभरका नागरिकले यो अभियानलाई साथ दिने विश्वास व्यक्त गरे।
“यो केवल गाह्रो लगाउने वा घर बनाउने कथा मात्र होइन, यो तीन करोड नेपालीको माटो र बाटोसँग जोडिएको अभियान हो,” उनले भने, “अब हामी यही माटो र बाटोमा जनतासँगै हिँड्नुपर्छ।”
उनले इतिहासका कमजोरी र विगतका राजनीतिक त्रुटिबाट शिक्षा लिएर नै आफूहरू एकताको बिन्दुसम्म आइपुगेको बताए। “हामी त्यत्तिकै एकता भएका होइनौं। इतिहासको गम्भीर समीक्षा गरेका छौं, विगतका घटनाबाट शिक्षा लिँदै आज यहाँसम्म आएका हौं,” उनले थपे।
कार्यक्रममा श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। पार्टीले आगामी दिनमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।





























