न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले विदेशमा रहेका नेपालीको केवल ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार रहेको प्रस्ट पारे।
विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरेका छन्।
मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको साङ्गठनिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए।
अमेरिकालगायत विश्वका विभिन्न देशमा रहेको दक्ष जनशक्तिलाई नेपाल भित्र्याएर लगानीको वातावरण सृजना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।