काठमाडौं। नेकपा (एमाले)ले अब सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत साउन ३० गतेको पार्टी सचिवालय बैठकले अब सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने निर्णय गरेको बताए ।
‘फेसबुक ट्विटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरै जना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई आसन ग्रहण गराएर समय वरवाद गर्नुभएन भन्ने सुझाव दिने गर्नुभएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ ।’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यसैगरी उनले अब अनुहारै छोपिने गरी खादा–माला र कोटभन्दा ठुला व्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने बताए।
त्यस्तै, उनले कार्यक्रमहरूमा औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरू हटाएर समयलाई काममा लगाउन सुझावहरू दिन आग्रह समेत गरे ।