कांग्रेस-एमालेको रोगबाट संक्रमित भएपछि उपचार खोज्न जनतामाझ आएका हौं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेसँगको सहकार्यले माओवादी पनि संक्रमित भएपछि उपचार खोज्न जनताको बीचमा आएको बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेमा रहेको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न आएको बताएका हुन् ।