परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता

 काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपालबेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) लगायतका विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयलगायतका विषयमा समेत छलफल भएको थियो ।