काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय गरिएका छन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार, प्रतिपक्षी दलहरूको बैठकका लागि चारवटा एजेन्डा तय गरिएका हुन् ।
यस्ता छन् एजेन्डाहरू–
१. न्यायाधीशहरूमाथि महाभियोग लगाउने सम्बन्धमा सत्तारूढ दल रास्वपाको निर्णय, अबको प्रक्रिया र विपक्षीहरूको धारणाबारे ।
२. संसद बैठक र संसदीय छानबिन समिति गठनको माग गर्नेबारे।
३. प्रहरी महानिरीक्षकका विषयमा उठेका आशङ्का तथा प्रश्नहरू र यस सम्बन्धमा साझा धारणा तय गर्नेबारे ।
४. प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्नेबारे ।
बैठक दिउँसो १ बजे कांग्रेस संसदीय दलको बैठकमा बस्ने बताइए पनि केहीबेर ढिला सुरु भएको छ । बैठकमा सहभागी हुन विभिन्न दलका नेताहरू कांग्रेस संसदीय दलको कार्यालयमा पुगिसकेका छन् ।
बैठकमा सहभागी हुन नेकपा एमालेबाट सचिव तथा उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुख सचेतक खुश्बु ओलीको बैठकमा सहभागिता रहेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ । कांग्रेसले श्रम संस्कृति पार्टी र संसद बाहिर रहेका दलहरूलाई पनि बताएको छ ।





























