जुम्ला। कर्णाली राजमार्ग, नाग्म-गमगडी र जुम्ला-मनाङ-मुस्ताङ सडकखण्डको स्तरोन्नति तथा निर्माण सम्झौताअनुसार समयमै काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम विनम्र निर्माण सेवा, शङ्करमाली निर्माण सेवा र मान शाही निर्माण सेवालाई तीन-तीन वर्ष, ध्रुव निर्माण सेवा र कश्यप निर्माण सेवालाई दुई-दुई वर्ष तथा अविनाश निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो। तोकिएको अवधिभर यी कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन्।
अर्कोतर्फ, जुम्ला जिल्लामा उद्योग दर्ता घट्दै गएको र खारेजी गर्नेको सङ्ख्या भने निरन्तर बढ्दै गएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार विगत चार वर्षदेखि नयाँ उद्योग दर्तामा सुस्ती आएको छ भने आर्थिक वर्ष २०८२/८३ मा १८० वटा उद्योग खारेजी भएका छन्। चालु आर्थिक वर्षको भदौसम्म ४३ वटा मात्र नयाँ उद्योग दर्ता हुँदा ५ वटा खारेजी र ११९ वटा नवीकरण भएका छन्। स्थानीय तहमा उत्पादनमूलक, कृषि, पर्यटन तथा सेवामूलक क्षेत्रका उद्योगहरूको आकर्षण घट्दै जाँदा समग्र आर्थिक गतिविधि प्रभावित भएको छ।






























