एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको कार्यालय ओभल हाउसमा शुक्रबार भएको नोकझोँकपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले आफ्नो देश सदैव साथ रहेको बताएका छन् । डाउनिङ स्ट्रिटमा आयोजित एक सौहार्दपूर्ण भेटमा प्रधानमन्त्री स्टार्मरले जेलेन्स्कीप्रति बेलायतको सधैँ साथ रहेको बताएका हुन् । सो अवसरमा जेलेन्सकीले बेलायतजस्तो मित्र आफूसँग रहेकोमा खुसी व्यक्त गरे । साथै, युद्धमा साथ दिएकोमा बेलायतलाई धन्यवादसमेत दिए ।
शनिबार जेलेन्स्की लन्डनमा पुग्दा समर्थकहरूको भिडले जयजयकार गरेको थियो । ‘तपाईंलाई यहाँ डाउनिङ स्ट्रिटमा धेरै धेरै स्वागत छ,’ स्टामरले भने । त्यसपछि दुई नेताबिच एक घण्टाभन्दा बढी समय वार्ता भएको थियो । लन्डनमा रहँदा जेलेन्स्कीले रणनीतिक साझेदार पाउँदा आफू खुसी भएको बताए । ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्ससँग चर्काचकी भएको भोलिपल्ट जेलेन्स्कीलाई शनिबार डाउनिङ स्ट्रिटमा भव्य स्वागत गरिएको थियो । भेटका अवसरमा स्टार्मर र जेलेन्स्कीबिच युक्रेनी सैन्य सामग्रीका लागि २.२६ बिलियन पाउन्ड स्टर्लिङको ऋणमा हस्ताक्षरसमेत भएको छ । रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट उक्त रकमको भुक्तानी गरिनेछ । ‘यो रकम युक्रेनमा हतियार उत्पादनमा प्रयोग गरिनेछ,’ जेलेन्स्कीले भने, ‘यो साँचो न्याय हो । हामी सदैव सत्यको पक्षमा छौँ । जसले युद्ध सुरु ग¥यो उसले यसको ठुलो मूल्य चुकाउनुपर्छ ।’
जेलेन्स्कीले बेलायती सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै रुसी हमलाको प्रतिकार गर्न रक्षा क्षमता बढाउन आग्रह गरे । ‘म युद्धको सुरुदेखि नै निरन्तर समर्थनका लागि बेलायती जनता र सरकारलाई धन्यवाद दिन्छु,’ जेलेन्स्कीले भने, ‘हामी यस्ता रणनीतिक साझेदार पाएर सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्नेबारे एउटै दृष्टिकोण साझा गर्न पाउँदा खुसी छौँ ।’ बिबिसिका अनुसार उक्त बैठकपछि प्रधानमन्त्री स्टार्मरले ट्रम्प र फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोंसँग छलफल गरे । सो अवसरमा उनले युक्रेन र समग्र युरोपको रक्षाका लागि निस्वार्थ रूपमा जुट्नुपर्ने बताए । ‘अब युक्रेनका लागि सर्वोत्तम परिणाम सुनिश्चित गर्न, युरोपेली सुरक्षाको रक्षा गर्न र हाम्रो सामूहिक भविष्य सुरक्षित गर्न हामी एकजुट हुने समय हो,’ स्टार्मरले भने । माक्रोंले युक्रेनबाट पछि हट्नु आफ्नो स्वार्थअनुकूल नहुने कुरालाई अमेरिकाले मनन गर्नुपर्ने सुझाव दिएका छन् । यसैबिच, बेलायत र फ्रान्सले युद्धग्रस्त युक्रेनमा शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने भएका छन् । ट्रम्प प्रशासनले युरोपको सुरक्षाप्रति कम चासो देखाइरहेका वेला स्टार्मरले जेलेन्स्कीभन्दा एक दिनअघि ट्रम्पसँग पनि वार्ता गरेका थिए । वार्तामा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिइनुपर्ने उनले बताएका थिए । युक्रेन युद्ध रोक्ने विषयमा बेलायत र फ्रान्सले शान्ति योजना तयार गर्ने र त्यसबारे ट्रम्पसँग पुनः छलफल गर्ने बेलायती प्रधानमन्त्री स्टार्मरको भनाइ छ ।
टम्प र जेलेन्स्कीको आश्चर्यजनक चर्काचर्कीपछि युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढाउन लन्डनमा एक दर्जनभन्दा बढी युरोपेली नेताहरू भेला हुँदै छन् । ट्रम्पले किएभलाई कमजोर पार्न लागेको बढ्दो चिन्ताबिच युक्रेनका सहयोगीहरूले आफ्नो दृढ प्रतिबद्धतालाई जोड दिइरहेका छन् ।यस बैठकले फ्रान्स, जर्मनी, डेनमार्क र इटालीका साथै टर्की, नाटो र युरोपेली संघ (इयू)लगायत युरोपका नेताहरूलाई एकसाथ ल्याउँदै छ । डाउनिङ स्ट्रिटले आइतबारको शिखर सम्मेलनले फेरि स्थायी शान्ति प्रदान गर्ने बलियो स्थायी सम्झौताको’ आवश्यकतालाई जोड दिने र बलियो सुरक्षा ग्यारेन्टीका लागि योजना बनाउने अर्को कदम चाल्नेबारे छलफल गर्ने बताएको छ ।
अमेरिकाले नाटोलाई निरन्तर समर्थन गर्छ वा गर्दैन भन्ने चिन्तामाझ हुन लागेको भेलाले युरोपेली रक्षा सहकार्य बढाउने आवश्यकतालाई पनि सम्बोधन गर्नेछ । सुरक्षा शिखर सम्मेलनमा युरोपेली सहयोगीहरूको समूहमा सामेल हुनुअघि आइतबार जेलेन्स्कीले राजा चाल्र्स तृतीयलाई भेट गरेका थिए ।





























