काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
कार्कीले २० कात्तिकमा दायर गरेको रिटमाथि यसअघि ३० कात्तिकमा सुनुवाइको मिति तोकिएको थियो। तर, छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेन।
तिहार र छठको बिदापछि मंगलबारदेखि अदालत सञ्चालनमा आएसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि नयाँ पेसी तोकेको हो। कार्कीको रिटमाथि एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ।
सरकारले १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। बुधबार हुने प्रारम्भिक सुनुवाइबाट रिटको आगामी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।





























