वित्तीय अपराधीलाई नियन्त्रण गर्न प्रविधिमैत्री अनुसन्धानमा जोड, आईजीपी केसीको यस्तो भनाइ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपरिहार्य रहेको बताएका छन्।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो प्रयोगले अनुसन्धानमा नयाँ चुनौती थपिएको बताए।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ।

कार्यशालामा प्रहरीका उच्च अधिकारी, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिसहित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

आईजीपी केसीले वित्तीय अपराध अनुसन्धानका चुनौती पहिचान गरी प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

उनले वित्तीय अपराध नियन्त्रणका लागि सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान आवश्यक रहेकोमा जोड दिए।