जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय परराष्ट्रको रायमा निर्भर

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे संसदीय सुनुवाइ समितिले अझै निर्णय गर्न सकेको छैन। जापानको स्थायी बसोबास अनुमतिपत्र (पीआर), परिवारको पीआर तथा जापानमा रहेको सम्पत्तिबारे उठेका प्रश्नको जवाफ खोज्दै समितिले परराष्ट्र मन्त्रालयसँग थप विवरण मागेको छ।

थापाले आफूले जापानको पीआर त्यागिसकेको बताए पनि उनकी श्रीमतीको पीआर र घरसम्पत्तिबारे प्रश्न उठेको छ। जापान सरकारबाट तलब सुविधा लिएको विषयमा समेत स्पष्ट विवरण प्राप्त हुन बाँकी छ।

समितिले परराष्ट्र मन्त्रालयको रायका आधारमा कात्तिक १९ गतेभित्र निर्णय गर्ने तयारी गरेको छ। कानुनी व्यवस्थाअनुसार ४५ दिनभित्र निर्णय नभए प्रस्तावित राजदूतको नाम स्वतः अनुमोदन भएको मानिनेछ।