सम्झने मेसिन होइनन् विद्यार्थी, प्रश्नशील बन्न सिकाउँ

समुन्नत नेपालको सपना साकार पार्न नेपालको उच्च शिक्षाले कस्तो जनशक्ति तयार गर्नुपर्ला ? के नेपालमा उच्च शिक्षा हासिल गरेका जनशक्ति आशा गरेअनुसार नै आफ्नो परिवार, समुदाय, समाज र राष्ट्रप्रति निष्ठावान् भई ज्ञाननिर्माणका लागि जिज्ञासु र सर्जक बनिरहेका छन् ? के शिक्षित भनिएको जनशक्ति ज्ञानका सूचना थुपार्ने ‘भाँडो’ बन्दै छन् कि विचार प्रज्वलित गर्ने ‘ज्वाला’ बनिरहेका छन् ?

यी प्रश्नहरू हामीले कुनै किताबी ज्ञानको सीमाभित्र रहेर मात्र उठाएका होइनौँ; हामीले आफ्नै सिकाइयात्रामा भोगेका यथार्थबाट प्राप्त सिकाइका आधारमा उठाएका हौँ । नेपालको विश्वविद्यालयीय शिक्षाको अभ्यासमा हामीले ज्ञानलाई ‘स्वीकार गर्ने सूचना, तर्क र प्रमाण’ का रूपमा मात्र देख्यौँ र तथ्यतथ्याङ्कका भण्डारलाई पहिलो प्राथमिकता दिएको पायौँ; प्रश्न सोध्ने, शङ्का व्यक्त गर्ने र वैकल्पिक सम्भावना कल्पना गर्ने अवसरको उपयोग गरी ज्ञान नै सिर्जना गर्ने सर्जकको तयारी गरेको पाएनौँ ।

त्यही अनुभवले हामीलाई शिक्षाको गहिरो अध्ययनतर्फ डोर्‍यायो र हामीले बुझ्यौँ : शिक्षा केवल ‘ज्ञान हस्तान्तरण’ को प्रक्रिया होइन; यो मानवीय मुक्ति, विषयवस्तुको गहिरोपना, विवेक र सामाजिक न्यायको परियोजना हो । यो बुझाइ हाम्रो सिकाइसँगै विकसित वैकल्पिक शैक्षिक दृष्टिकोणको जग बन्यो । यस लेखमा त्यही दृष्टिकोण तथा त्यसको आधारलाई व्यक्त गरेका छौँ ।

आज हामीले नेपालको उच्च शिक्षाको सान्दर्भिकताका बारेमा उठेको मूल प्रश्नका बारेमा चिन्तन गर्न जरुरी छ: हाम्रा विश्वविद्यालयहरूले आलोचनात्मक र सिर्जनशील चिन्तक उत्पादन गर्ने हो भने कुन सिकाइ प्रणाली अँगाल्नुपर्छ ? हाम्रो उत्तर छ : उदार कला शिक्षा (लिबरल आर्ट्स एजुकेशन) बाट गरिने सिकाइ प्रणाली । तर हामी यसलाई केवल विषयहरूको समूहका रूपमा सीमित गर्न वा बुझ्न बुझाउन सक्दैनौँ ।

नेपालको उच्च शिक्षा प्रणालीले विद्यार्थीलाई प्रमाणपत्र र रोजगारीका लागि आवश्यक सीपमा मात्र सीमित नगरी आलोचनात्मक चिन्तन, सिर्जनशीलता र सामाजिक जिम्मेवारी विकास गर्नुपर्नेमा शिक्षाविद्हरूले जोड दिएका छन्।

उदार कला शिक्षा विषयहरूको सूची मात्र नभई विद्यार्थीलाई ‘के’ भन्दा ‘किन’ र ‘कसरी’ भनेर प्रश्न गर्न सिकाउने शिक्षण पद्धति हो। यसले विद्यार्थीलाई तयार उत्तर घोक्नुभन्दा प्रमाण, तर्क र संवादका आधारमा ज्ञान निर्माण गर्न प्रेरित गर्छ।

शिक्षाले रोजगारीका लागि सीप दिनुका साथै नैतिक विवेक, समानता र सामाजिक न्यायप्रतिको चेतना पनि विकास गर्नुपर्ने लेखको निष्कर्ष छ। विश्वविद्यालयहरूले स्थानीय ज्ञान, संस्कृति र जीवनका अनुभवलाई शिक्षासँग जोड्दै विद्यार्थीलाई स्वतन्त्र चिन्तक, सिर्जनशील व्यक्ति र जिम्मेवार नागरिक बनाउनुपर्नेमा जोड दिइएको छ।