काठमाडौं — चर्चित गायक यम बराल हाल काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा चिकित्सक हरूको निगरानीमा उपचार गराइरहेका छन्। लामो समय देखि ढाडमा असह्य पीडा महसुस भएपछि अस्पताल भर्ना गरिएका बरालमा विस्तृत स्वास्थ्य परीक्षण पछि मल्टिपल माइलोमा नामक रक्त सम्बन्धी क्यान्सर भएको पुष्टि भएको परिवारले जनाएको छ।
बरालका भतिजा सञ्जय बरालका अनुसार सुरुमा ढाड दुख्ने समस्या सामान्य ठानिए पनि उपचारका क्रममा थप परीक्षण गर्दा रोगको वास्तविक कारण खुलेको हो। हाल उनी अस्पतालको अर्थोपेडिक वार्डमा उपचाररत छन् र चिकित्सकको सल्लाह अनुसार पूर्ण आराममा रहेका छन्।
परिवारका अनुसार बरालले उपचारको पहिलो चरणअन्तर्गत दुई चरणको केमोथेरापी पूरा गरि सकेका छन्। उपचारको सकारात्मक प्रतिक्रिया देखिएको भन्दै चिकित्सक हरूले उनको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राखेका छन्। केमोथेरापी पछि देखिने अत्यधिक कमजोरी वा अन्य जटिल लक्षण भने अहिले सम्म खासै नदेखिएको बताइएको छ।
सञ्जय बरालका अनुसार यम बरालको मानसिक अवस्था सामान्य छ। उनी परिवारका सदस्यसँग सहज रूपमा कुराकानी गर्ने, सबै कुरा स्मरण गर्न सक्ने तथा उपचार प्रति सकारात्मक देखिएका छन्। ढाडको पीडाका कारण भने हाल हिँड डुलमा रोक लगाइएको छ।
मल्टिपल माइलोमा प्लाज्मा सेलमा विकसित हुने रक्त सम्बन्धी क्यान्सर हो। यसले हड्डीको मज्जामा असर पार्दै स्वस्थ रक्त कोषहरूको उत्पादनमा बाधा पुर्याउन सक्छ। यद्यपि समयमै पहिचान भएर उपचार सुरु गरिएकाले बरालको अवस्थामा आशावादी हुन सकिने परिवारको भनाइ छ।
परिवारले शुभेच्छुक हरूलाई अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै उपचार नियमित रूपमा अघि बढिरहेको र गायक बरालको स्वास्थ्यमा क्रमिक सुधार आउने विश्वास व्यक्त गरेको छ।




























