कुश्मा बजार हुँदै मालढुंगा र बेनी बजारसम्मै ठाउँ ठाउँमा पहिरो खसेका छन् । कुनै ठाउँमा पहिरोले सडकसमेत सोहोरेर लग्यो भने कुनै ठाउँमा सडक किनारमै ढुंगामाटो थुप्रिएका छन् । भीरका अडिएका ढुंगाहरु झर्न ठिक्क परेझैँ देखिन्छन् ।
पर्वतको कुश्मा नगरपालिकाको सहस्रधारा र मालढुंगा–बेनी सडकका ठाउँ–ठाउँमा क्षतविक्षत सडकमा गाडी चल्न त थालेका छन् तर टाउकै माथिबाट खस्लाजस्तो पहाड हेर्दै यात्रुहरु आउ–जाउ गरिरहेका छन् ।
असोज ८ गतेबाट परेको अविरल वर्षापछिको बाढी र पहिरोले गण्डकी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो । कालीगण्डकी नदीको बाढीले जलजला गाउँपालिकाको पुरानो फर्से बजार नै सोत्तर पारेको । म्याग्दी सदरमुकाम बेनीदेखि पर्वत सदरमुकाम कुश्मासम्म कालीले ठाउँ–ठाउँमा कटान गरेको देखिन्छ ।
कालीगण्डकीले कटान गरेर बस्ती र जमिन क्षतविक्षत बनाएको देख्दा संरक्षण अभियन्ता आरके अदिप्त गिरी योभन्दा ठूलो विपत्तिबाट जोखिएको मान्छन् ।
‘कालीगण्डकीले यसरी बस्ती र जमिन कटान गरेको छ, मानौं हाम्रा बस्तीहरु बाल–बाल बचेका हुन् । ठूलो मानवीय क्षति टरेको हो,’ क्षतिग्रस्त ठाउँ हेर्दै गिरी जिब्रो टोक्छन् । अनौठो र अपत्यारिलोजस्तो दृश्य अझै पनि कुश्मादेखि जलजलासम्मै देखिन्छ ।
मालढुंगा पुलको पहुँचमार्ग भत्किँदा पश्चिमी भूभागसम्म असर
असोज ११ गते कालीगण्डकीमा आएको बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पहुँचमार्ग नै कटान गरिदियो । मालढुंगा पुलको पर्वत तर्फको भागमा कालीले कटान गर्दा चाडबाडको मुखमा पर्वत पश्चिमका नागरिकले ठूलो समस्या बेहोरेका छन् ।
मालढुंगाको पुल कालीगण्डकीले कटान गरिदिँदा बागलुङ र बुर्तिबाङबाट रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम हुँदै सुदूरपश्चिमको बैतडी (झुलाघाट) सम्म यो मालढुंगामा कटान हुँदा सम्पर्क विच्छेद हुन पुगेको छ ।
मुख्य रूपमा बागलुङको बुर्तिबाङ क्षेत्र हुँदै यात्रा गर्दा वा यो राजमार्गले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, डोल्पालगायतका पश्चिमी तथा मध्यपहाडी जिल्लाहरूसँग सीधा जोडिन पुगेको थियो । नदी कटानले मालढुंगामा पहुँच मार्ग लगिदिँदा चाडबाडको मुखमा हजारौं नागरिक प्रभावित बन्न पुगेको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको भनाइ छ ।






























