धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

सुदूरपश्चिमको कैलालीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा गएराति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ परेको थियो। चट्याङको झिल्का लागेर उनीहरू घाइते भएका हुन्।

घाइते सबैलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्पतालमा उपचाररत सातै जनाको अवस्था सामान्य रहेको छ। जन्मदिनको खुसी मनाइरहेको समयमा अचानक चट्याङ पर्दा केहीबेर त्रासको अवस्था सिर्जना भएको थियो।