काठमाडौं । पोखरा विमानस्थलमा परीक्षण उडानका लागि त्रिभुवन विमानस्थलको रनवे छाड्ने बित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सौर्य एयरलाइन्सको (एन एएमई)सीआरजे २००० जहाज बिहान ११ बजे विमान दुर्घटनामा परेको हो । विमानस्थलबाट टेकअफ गर्नासाथ विमान दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु भने नरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो । आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २–० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो । विमानस्थल स्रोतका अनुसार जहाजमा चालक दलका दुई जना सदस्य, सौर्यका कर्मचारी र इन्जिनियर सवार थिए ।































