पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१९ तललाकोट टारी ७ जना, वडा ३२ चैनपुरमा ३ जना र मादी गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइती कुमारी गुरुङको मृत्यु भएको छ । उनका ५५ वर्षीय छोरा ओम बहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।