मिदासद्वारा माइक्रोसर्भिसेसमा आधारित एचएमआईएस सार्वजनिक

काठमाडौं । मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित अस्पताल व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस ) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धि भनेको छ ।

परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआईएस लाई माइक्रोसर्भिसेस प्रविधिमा रूपान्तरण गरेको हो । यस प्रणालीमा बिलिङ, फार्मेसी, बिरामी अभिलेख र प्रयोगशालाजस्ता सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा सञ्चालन हुन्छन् । कुनै एउटा मोड्युलमा समस्या आए वा अद्यावधिक गर्नुपरे अन्य सेवामा असर नपर्ने भएकाले अस्पतालको सेवा निरन्तर सञ्चालन गर्न सहज हुने कम्पनीको भनाइ छ ।

मिदासका अनुसार, नयाँ प्रणालीले अस्पताललाई आवश्यकताअनुसार सेवा विस्तार गर्न, बिरामीको चापअनुसार निश्चित मोड्युलको क्षमता बढाउन र नयाँ सुविधा छिटो थप्न सहयोग गर्नेछ । यसले प्रणालीको लचकता, कार्यक्षमता र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ ।

२५ वर्षभन्दा बढी समयदेखि स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिसम्बन्धी सेवा दिँदै आएको मिदासले केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज र निजी क्लिनिकसहित २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कम्पनीले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, ह्याम्स अस्पताल, फ्रन्टलाइन अस्पताल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी अस्पताल, अस्पताल फर चिल्ड्रेन, आई, ईएनटी एन्ड रिह्याबिलिटेसन सर्भिसेज, भीम अस्पताल र मणिपाल मेडिकल कलेज लगायतका संस्थामा पुरानो प्रणालीलाई नयाँ प्रविधिमा स्तरोन्नति गरिसकेको छ ।

त्यस्तै, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, तिलोत्तमा अस्पताल, भरतपुर सामुदायिक अस्पताल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी अस्पताल, रिदम न्युरोसाइकियाट्री अस्पताल एन्ड रिसर्च सेन्टर, डीआई डेन्टल अस्पताल र शियर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा नयाँ प्रणाली कार्यान्वयन गरिएको कम्पनीले जनाएको छ ।

मिदास हाल किस्ट मेडिकल कलेज टिचिङ अस्पताल र नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरलगायतका संस्थामा प्रणाली स्तरोन्नतिको प्रक्रियामा छ । अन्य पुराना ग्राहक संस्थामा पनि नयाँ प्रविधि विस्तार गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अंकित भण्डारीले मिदासले सफ्टवेयर उपलब्ध गराउने मात्र नभई स्वास्थ्य संस्थासँग दीर्घकालीन साझेदारी निर्माण गर्ने बताए । अस्पतालको उपचार सेवा र प्रशासनिक कामलाई प्रभावकारी बनाउन भरपर्दो तथा आवश्यकताअनुसार विकसित हुने प्रविधि उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ ।

आइएमई ग्रुपको मुख्य लगानी रहेको मिदास हेल्थ सर्भिसेज यसअघि मिदास टेक्नोलोजिजका नामले परिचित थियो । कम्पनीले नेपालको ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थालाई एचएमआईएस सेवा प्रदान गर्दै आएको र यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० प्रतिशतभन्दा बढी जनसंख्या लाभान्वित भएको जनाएको छ ।