काठमाडौँ – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। आइतबार बिबाहन ५ बजेर ४० मिनेटमा कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो।
आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्।
घाइते हुनेहरुमा बाँके जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार, सोही ठाउँमा २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५वर्षीय लक्ष्मीराम यादव रहेका छन्। उनीहरुमध्ये २ जनाको अवस्था मध्यम छ भने ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै घाइते हुनेहरुमा भारतको बहराइचस्थित कठौतिया बस्ने २९ वर्षीय राजकुमार निषाद, सोही ठाउँका २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद रहेका छन्। उनीहरु तीनै जनाको अवस्था सामान्य रहेको छ।
घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको छ।






























