जर्मनीमा जेनजी प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट र प्रहरीसँग झडप

काठमाडौं । जर्मनीका विभिन्न सहरमा भएको जेनजी नेतृत्वको प्रदर्शन शनिबार राति हिंसात्मक बनेको छ। फ्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन्।

बीबीसीका अनुसार बर्लिन, कोलोन र ह्याम्बर्गमा समेत हिंसाका घटना भएका छन्। प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि ढुङ्गा, बोतल र पटाका प्रहार गरेपछि प्रहरीले पानीको फोहरा प्रयोग गरी भीड तितरबितर पारेको थियो। घटनामा केही व्यक्ति पक्राउ परेका छन्।

‘जेनजी रेगेल्ट’ अभियानअन्तर्गत भएको प्रदर्शनमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती, सरकारी खर्च घटाउने नीति र अनिवार्य सैन्य सेवाको विरोध गरिएको थियो। अधिकारीहरूका अनुसार फ्याङ्कफर्ट, म्युनिख र बर्लिनमा गरी करिब १८ हजार मानिस सहभागी भएका थिए।

दिनभर शान्तिपूर्ण रहेको प्रदर्शन राति हिंसात्मक बनेको बताइएको छ।