चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए विभागमा उजुरी

काठमाडौं । दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेका हुन् ।

श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दशैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ ।

एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । तर सोहीअनुसार रोजगारदाता, प्रतिष्ठानले चाडपर्व खर्च नदिएको भन्दै श्रमिकले धमाधम उजुरी गरिरहेका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेकाअनुसार उजुरी पछि ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न रोजगारदाता, प्रतिष्ठानलाई कडा निर्देशन दिइएको बताए ।

उनकाअनुसार विभागले दशैँ बिदाअघि नै नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई०, नेपाल उद्योग परिसंघ ९सीएनआई० र नेपाल चेम्बर अफ कमर्स ९एनसीसी० लाई पत्राचार गरेको थियो ।

विभागले २३ असोजमा ती सङ्गठनलाई पत्र पठाउँदै आफ्ना आवद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई जानकारी गराएर श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो ।

२६ असोजमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० लाई पत्राचार गरी निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो । अहिले पनि उजुरीमाथि आवश्यक कारबाही थालिएको पाण्डेले बताए ।

पाण्डेकाअनुसार चाडपर्व खर्च नपाएको श्रमिकको उजुरीपछि श्रम तथा रोजगार कार्यालय बुटवलले रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई रकम भुक्तानी गर्न विभागले निर्देशन दिएको थियो ।

कार्यालयले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रम ऐनअनुसार कर्मचारीको चाडपर्व खर्च उपलब्ध गराउन भनेको थियो । त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विवरण कार्यालयमा पेश गरेको छ ।

अस्पतालले २०८३ कात्तिक ९ गते पठाएको जवाफमा कर्मचारीलाई असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम भुक्तानी गरिसकेको उल्लेख गरेको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पाण्डेले भुक्तानीको पुष्टि गर्न अस्पतालले बैंकिङ कारोबारका प्रमाणित विवरणसमेत पेश गरेको बताए ।

महानिर्देशक पाण्डेकाअनुसार उजुरी प्राप्त भएपछि विभाग र मातहतका कार्यालयले समस्या समाधान गर्न अग्रसरता लिइरहेको छ । सामाजिक सञ्जालमार्फत आएका गुनासोका आधारमा समेत सम्बन्धित कार्यालयले रोजगारदातासँग सम्पर्क गरी रकम उपलब्ध गराउन अग्रसरता लिएको बताए ।

उनकाअनुसार विभागले सम्बन्धित विद्यालयका प्रिन्सिपलसँग सम्पर्क गर्दा चाडपर्व खर्च उपलब्ध नगराएको स्वीकार गर्दै तत्काल भुक्तानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

तर श्रमिकका गुनासा चाडपर्व खर्चमा मात्र सिमित छैनन् । कतिपय श्रमिकले न्युनतम पारिश्रमिकसमेत नपाएको र नियमित तलब भुक्तानी नहुने गरेको गुनासो गरेको पाण्डेले बताए ।

महानिर्देशक पाण्डेले भने, ‘श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दशैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यस विषयमा हामीले दशैँ बिदा हुनुअघि निर्देशन नै दियौँ । रोजगारदाताका छाता सङ्गठनदेखि निजी विद्यालय सञ्चालकका सङ्गठन प्याब्सन र एनप्याब्सनलाई समेत पत्राचार गरेका थियौँ । विज्ञप्ति जारी गरेपछि यस विषयमा व्यापक प्रचारप्रसार भयो र उजुरी दिनसमेत आह्वान गर्‍यौँ । दशैँअघि कार्यालय समयभित्रै विभागको इमेल र पोर्टलमा मात्रै ६०० भन्दा बढी उजुरी प्राप्त भएका थिए । त्यसबाहेक पनि अहिलेसम्म धेरै उजुरी परेका छन् ।’

श्रम ऐनले सुनिश्चित गरेको चाडपर्व खर्च उपलब्ध गराउनु रोजगारदाताको कानूनी दायित्व रहेको बताउँदै उहाँले ऐनमा भएको व्यवस्था निर्मम भएर कार्यान्वयन गरिने बताए ।