धनगढी । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्न राज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका विषयमा स्पष्टीकरण तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार चौधरीलाई सुरुमा अर्को प्रशासनिक सन्दर्भमा बोलाइएको भए पनि पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बनेको अभिव्यक्तिबारे पनि सोधपुछ गरिनेछ।
घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागु औषध दुरुपयोग विरुद्धको सचेतना मूलक कार्यक्रममा बोल्ने क्रममा डीएसपी चौधरीले “हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हौं” भन्दै प्रहरी संगठन कुनै व्यक्ति विशेषको नभई कानुनअनुसार काम गर्ने निकाय भएको बताएका थिए। उनले सोही क्रममा “हामी सेलेक्टेड हौं, इलेक्टेड होइनौं” भन्ने टिप्पणी पनि गरेका थिए।
उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। त्यसपछि प्रहरी नेतृत्वले विषयलाई गम्भीर रूपमा लिएर आवश्यक जानकारी लिन प्रक्रिया अघि बढाएको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राष्ट्रसेवक कर्मचारीले सार्वजनिक अभिव्यक्ति दिँदा उच्च पेशागत मर्यादा र संयमता अपनाउनुपर्ने बताए। उनका अनुसार सन्दर्भभन्दा बाहिर गएर गरिएका टिप्पणीले अनावश्यक विवाद निम्त्याउन सक्ने भएकाले सम्बन्धित निकायले सोधपुछ गर्नु र भविष्यका लागि सचेत गराउनु नियमित प्रशासनिक प्रक्रिया हो।
प्रहरी स्रोतका अनुसार चौधरीसँग अन्य आन्तरिक विषयमा पनि छलफल हुने भए पनि सार्वजनिक रूपमा चर्चामा आएको अभिव्यक्ति बारे स्पष्ट धारणा मागिने छ।





























