गोरखा । गोरखाको बूढीगण्डकी बाढीमा फसेको घरपालुवा कुकुरको २० दिनपछि उद्धार भएको छ । गत असोज २५ गतेदेखि उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ जगतमा उक्त कुकुर फसेको थियो ।
शुक्रबार धादिङको र्याफ्टिङ टोलीले एनिमल नेपाल नामक संस्था र चुमनुब्री पालिकासँगको समन्वयमा सिर्दिबासस्थित जगत पुगेर कुकुरको उद्धार गरेको हो । ‘हिजो हेलिकप्टरबाट उद्धार गर्ने तयारी थियो,’ गाउँपालिका अध्यक्ष निमा लामाले भने, ‘तर मौसमका कारण हेलि उड्न सकेन ।’ मौसमका कारण हेली उडान सम्भव नभएपछि र्याफ्टिङ टोलीको सहयोग लिइएको उनले बताए ।
जगतस्थित स्थानीय कमल कार्कीले पालेको उक्त कुकुर गत असोज २५ गतेको बाढीका कारण बूढीगण्डकी नदी बगरमा फसेको थियो । बाढीले कार्कीको घरसँगै पुल समेत बगाएपछि कुकुर नदी पारि फसेको हो ।
‘माथिबाट बाढी आएको खवर पाएपछि घरवेटीहरु पुल तरेर वारी आए, एकछिनपछि घर र पुल दुवै बगायो, कुकुर पारी को पारी भयो,’ जगतका स्थानीय गणेश कार्कीले भने । उनका अनुसार बाढीले सो क्षेत्रको चार घर बगाएको थियो । बाढीका कारण सोही क्षेत्रमा केही बाख्राहरु समेत फसेका थिए । उनीहरूको पनि उद्धार प्रयास भइरहेको बताइएको छ ।





























