उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री ओली जाने

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुदैछ ।

आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरुको ललितपुरस्थित जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री सुरु गरेको थियो । तर बिहानैबाट टिकट काट्नेहरु लाइनमा बसेका थिए ।

एन्फाले जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री गरेको छ । यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था एन्फाले गरेको छ । यसअघि अनलाइन टिकट खरिद गरिसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको भएकबाले ११ हजार थान टिकट मात्र बिक्री गरिने एन्फाले जनाएको छ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताए । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।