काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढीपीडितको पछिल्लो अवस्थाबारे जानकारी लिन रसुवा पुगेका छन् । थापासहित कांग्रेसका नेताहरू आइतबार रसुवा पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग भेटघाट गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले रसुवाका बाढीपीडितको वर्तमान अवस्था समेटेर प्रतिवेदन तयार पार्ने भएको छ । स्थानीयस्तरमा पीडितको अवस्था, उनीहरूका समस्या र आवश्यकताबारे जानकारी संकलन गर्न सभापति थापासहितका नेताहरू रसुवा पुगेका हुन् । उनीहरूले आइतबार बिहान बेत्रावतीमा बाढीपीडितसँग भेटघाट तथा छलफल गरेका छन् ।
कांग्रेसले धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको छ । प्रतिवेदनका आधारमा बाढीपीडितलाई पार्टीका तर्फबाट सम्भव सहयोग गर्ने र सरकारले गर्नुपर्ने कामका विषयमा सरकारलाई खबरदारी गर्ने कांग्रेसको योजना छ ।
जग्गाको अभाव देखाउँदै सरकारले स्थायी बसोबासको व्यवस्था गर्न ढिलाइ गरेको बाढीपीडितको गुनासो छ । बाढीका कारण पुरानै घरमा बस्न सक्ने अवस्था नरहेकाले सरकारले जग्गा खरिद गरेर भए पनि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
कांग्रेस सभापति थापाले पीडितका समस्या स्थानअनुसार फरक रहेको उल्लेख गर्दै पुनर्स्थापना र सडक निर्माणको विषयलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।





























