मागपत्र प्रमाणीकरणमा आवश्यक कागजात एकैपटक जानकारी गराउन नियोगलाई निर्देशन

काठमाडौं । वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण प्रक्रियामा हुने अनावश्यक ढिलासुस्ती र झन्झट अन्त्य गर्न सरकारले नियोगहरूलाई निर्देशन दिएको छ।

श्रम मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले अबदेखि मागपत्रमा कागजात अपुग भएमा रोजगारदाता कम्पनीलाई एकैपटक (एकमुष्ट) जानकारी गराउनुपर्नेछ। साथै, कानुनबमोजिम तोकिएको समयसीमाभित्रै प्रमाणीकरण प्रक्रिया सक्नुपर्नेछ।

रोजगारदाताहरूले व्यहोर्नुपरेको प्रशासनिक सास्ती हटाउन र प्रक्रियालाई पारदर्शी बनाउन परराष्ट्र मन्त्रालयमार्फत सबै नियोगहरूमा यो परिपत्र पठाइसकिएको छ।