काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।
महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१-१७ अङ्कले पराजित गरेको हो ।
नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो ।
महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो ।