काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ ।
विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको छ ।
विसं २०६९ मा ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा सार्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो । त्यही निर्णयका विषयमा सिआइबीले पौडेलसँग बयान लिएको जनाइएको छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पौडेलसँग बयान लिएको थियो । केही दिनअघि सर्वोच्च अदालतले उक्त प्रकरणमा उच्च र निर्णय तहका व्यक्तिहरुमा पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।
अहिलेसम्म २० जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ । २०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो ।