गाजाका नागरिक खाना र औषधिको अभावमा

एजेन्सी । युद्ध र विस्थापनका कारण गाजाका नागरिकले पर्याप्त खाना, पिउने पानी र औषधिको अभाव झेलिरहेका छन्। बजारमा खाद्यवस्तु उपलब्ध हुन थाले पनि चर्को मूल्य र आम्दानीको स्रोत गुमेका कारण धेरै परिवारलाई दैनिक छाक टार्नसमेत कठिन भएको छ। खाद्य असुरक्षाले बालबालिकाको स्वास्थ्यमा असर पारिरहेको छ भने दीर्घरोगीहरूका लागि आवश्यक औषधि र पोषण जुटाउनु थप चुनौतीपूर्ण बनेको छ।

उत्तरी गाजाको बेत हानुनबाट विस्थापित ४६ वर्षीया ओम तारिक अबु अम्शा आफ्ना सात सन्तानसहित गाजा सिटीस्थित इस्लामिक विश्वविद्यालयको क्षतिग्रस्त भवनमा बस्दै आइरहेकी छन् । बजारमा केही खाद्यवस्तु उपलब्ध भए पनि परिवारका लागि पर्याप्त खाना किन्न नसकिएको उनले चिनियाँ समाचार संस्था सिन्ह्वासँग बताएकी छन्।

“हामी दिनमा दुई छाक खान्छौँ। अहिले दिउँसो भएको छ र यही खानालाई बेलुका पाँच बजेसम्म पुर्‍याउने प्रयास गर्छौँ। त्यसपछि अर्को छाक तयार पार्ने कोसिस गर्छौँ,” उनले भनिन् ।

उनका अनुसार बालबालिकाले दुई छाकबीच खाजा खानसमेत पाउँदैनन्। भोकमरी सुरु भएदेखि नै उनीहरू दिनमा दुई छाक खान अभ्यस्त हुन बाध्य भएका छन्। कहिलेकाहीँ एक छाक खानामै चित्त बुझाउनुपर्ने अवस्था आउने गरेको उनले बताइन् ।

लामो समयसम्म पर्याप्त खाना नपाउँदा आफ्ना सन्तानको तौल घट्दै गएको र स्वास्थ्यमा असर परेको देखेर आफू चिन्तित रहेको अबु अम्शाले बताइन् । मासु र अन्य पौष्टिक खाद्यवस्तुको मूल्य महँगो भएकाले बालबालिकालाई आवश्यक पोषण दिन नसकेको उनको भनाइ छ।

“म बच्चालाई लिएर बजार जाँदा उसले खजुर, तरबुजा र अरू खानेकुरा देख्छ र खान मन गर्छ। तर मेरा बालबालिकालाई आवश्यक सबै कुरा म दिन सक्दिनँ,” उनले भनिन्, “हामीले सातामा एक पटक मासु किन्न सक्यौँ भने पनि ठूलो कुरा हुन्छ। कहिलेकाहीँ दुई–तीन सातामा एक पटक मात्र मासु किन्न सक्छौँ।”

गाजा सिटीस्थित विश्वविद्यालय परिसरमै आफन्तसँग पालमा बस्दै आउनुभएकी ५१ वर्षीया ओम अहमद कासिमको अवस्था पनि उस्तै छ। पटकपटकको विस्थापन र आम्दानीको स्रोत गुमेपछि उनलाई खाना र औषधिको खर्च जुटाउन कठिन भएको छ।

“हामीलाई पर्याप्त खाना जुटाउन मात्र होइन, पिउने पानीको व्यवस्था गर्नसमेत गाह्रो भइरहेको छ। खाना छैन भने हामी एक टुक्रा रोटी र चियामै गुजारा गर्छौँ,” उनले सिन्ह्वासँग भने ।

बजारमा तरकारी, फलफूल र अन्य खाद्यवस्तु देखिए पनि महँगो मूल्यका कारण किन्न नसकिएको उनले बताए । मधुमेहबाट पीडित कासिमलाई नियमित औषधि सेवन र स्वास्थ्य अनुकूल आहार आवश्यक छ। तर सीमित आर्थिक स्रोतका कारण खाना र उपचारको आवश्यकता पूरा गर्न उनलाई थप कठिन भएको छ।

गाजामा खाद्यवस्तु बजारमा उपलब्ध हुनु र नागरिकले पर्याप्त तथा पोषणयुक्त खाना खान पाउनु फरक विषय बनेको छ। आम्दानी गुमाएका विस्थापित परिवारले खाद्यवस्तुको मूल्य धान्न नसक्दा भोक टार्नकै लागि खानाको मात्रा र गुणस्तर दुवैमा सम्झौता गर्नुपरेको छ।

खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) ले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, युनिसेफ र विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा गरेको विश्लेषणअनुसार गाजाका करिब १४ लाख मानिस अर्थात् कुल जनसङ्ख्याको ६७ प्रतिशत हिस्सा गम्भीर वा सोभन्दा खराब स्तरको तीव्र खाद्य असुरक्षामा छन्। त्यस्तै, करिब दुई लाख १२ हजार मानिस आपत्कालीन स्तरको खाद्य असुरक्षामा रहेको विश्लेषणले देखाएको छ।

खाद्य असुरक्षाको अवस्थामा केही सुधार देखिए पनि त्यो उपलब्धि कमजोर र अस्थिर रहेको संयुक्त राष्ट्रसंघीय निकायहरूले चेतावनी दिएका छन्। मानवीय सहायता तथा व्यावसायिक खाद्य आपूर्ति नियमित हुन नसकेमा अवस्था पुनः बिग्रन सक्ने उनीहरूको आकलन छ।

गाजाको अवस्थाले द्वन्द्वको मानवीय मूल्यलाई उजागर गरेको छ। युद्ध र राजनीतिक शक्ति संघर्षको प्रत्यक्ष भार सर्वसाधारणले भोक, रोग, विस्थापन र असुरक्षाका रूपमा बेहोर्नुपरेको छ। यस्तो अवस्थामा नागरिकलाई पर्याप्त खाना, स्वच्छ पानी, औषधि र सुरक्षित आश्रय उपलब्ध गराउनु तत्कालीन मानवीय आवश्यकता बनेको छ।