काठमाडौं । सत्ता साझेदारी गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी छन्।
सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले लगातार संसद अवरूद्ध गरिरहेको र ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न सकिने गरी सर्वोच्च अदालतले आदेश दिएको सन्दर्भमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो।