केन्यामा इबोला भाइरसको पहिलो संक्रमण पुष्टि: उच्च शतर्कता र निगरानी तिब्र

केन्या — केन्यामा पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि भएपछि देशभर स्वास्थ्य सतर्कता उच्च पारिएको छ। बन्डिबुग्यो प्रजातिको इबोला भाइरसबाट एक बिरामीको मृत्यु भएसँगै स्वास्थ्य मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ र निगरानी कार्यलाई युद्धस्तरमा अगाडि बढाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार इबोलाको पहिलो संक्रमण पुष्टि भएको थियो। संक्रमित व्यक्तिको सोमबार राति नै निधन भइसकेको र विश्व स्वास्थ्य संगठन (WHO) को ‘सुरक्षित र मर्यादित अन्त्येष्टि’ प्रोटोकल पालना गर्दै मंगलबार शव व्यवस्थापन गरिएको छ।

स्वास्थ्य मन्त्रालयका क्याबिनेट सेक्रेटरी एडेन डुएलेले हालसम्म ५७ जना सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरिएको जानकारी दिएका छन्। जसमध्ये १० जनालाई क्वारेन्टाइनमा राखी उनीहरूको स्वास्थ्य अवस्थाबारे दैनिक निगरानी भइरहेको छ भने बाँकी व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ।

त्यस्तै, सार्वजनिक स्वास्थ्य सचिव मेरी मुथोनीले देशभरका स्वास्थ्य अधिकारीहरूलाई उच्च सतर्क रहन निर्देशन दिएकी छन्। जोखिमलाई मध्यनजर गर्दै अतिरिक्त क्वारेन्टाइन केन्द्रहरूको स्थापनाका साथै संक्रमित बिरामीको सुरक्षित ओसारपसारका लागि विशेष टोली परिचालन गरिएको छ।

स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. प्याट्रिक अमोथले संक्रमण तीव्र गतिमा फैलिन सक्ने जोखिम रहेकाले आगामी केही दिन निकै संवेदनशील रहने बताएका छन्। थप महामारी रोक्न संक्रमितको सम्पर्कमा आएका सबै व्यक्तिहरूलाई तत्काल एउटै आइसोलेसन केन्द्रमा ल्याउनु अनिवार्य रहेको उनको भनाइ छ।

केन्याले हाल छिमेकी मुलुकहरूसँग जोडिएका १५ वटा मुख्य सीमा नाकाहरूमा निगरानी कडा बनाएको छ। सीमावर्ती जिल्लाहरूमा विशेष उपचार केन्द्रहरू स्थापना गरिनुका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य नियम (IHR) अनुसार विश्व स्वास्थ्य संगठनलाई आधिकारिक जानकारी गराइसकिएको छ। छिमेकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगो (DRC) मा भइरहेको इबोलाको निरन्तर प्रकोपलाई ध्यानमा राख्दै केन्याले यो सक्रियता बढाएको हो।