चक्कु प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

जनकपुरधाम । धनुषाको जनकपुरधाममा पुरानो दुस्मनीका कारण धारिलो हतियार (चक्कु) प्रहार हुँदा एक युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

चक्कु प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोक निवासी २४ वर्षीय आमिन साफीको मृत्यु भएको छ। घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। उपचारका क्रममा साफीको मृत्यु भएको र घाइते राइनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरीका अनुसार २२ वर्षीय मोहम्मद इर्साद खानले पुरानो रिसइबीका कारण दुवै जनाको छाती र पेटमा धारिलो हतियार प्रहार गरेका हुन्। घटनामा संलग्न आरोपी खानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।