दाङ – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेशस्तरीय भेला सोमबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) मा सुरु भएको छ।
भेलाको उद्घाटनका लागि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा देउखुरी आउँदै छन्। उनी नेपालगञ्जबाट देउखुरीका लागि प्रस्थान गरिसकेका छन्। कार्यक्रममा कांग्रेस नेता डा. शशांक कोइराला भने आइपुगेका छन्।
भेलामा नेपाली कांग्रेसका केन्द्रीय तथा प्रदेशस्तरका नेताहरू, लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधि तथा नेता-कार्यकर्ताहरूको सहभागिता रहेको छ। भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठनात्मक गतिविधि, आन्तरिक एकता र आगामी महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।
पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधि तीव्र भइरहेका बेला आयोजना गरिएको भेलालाई लुम्बिनी प्रदेशमा देउवा पक्षको संगठनात्मक अवस्था, भावी रणनीति र पार्टीभित्रको एकताका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




























