ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। पारित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।

सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत सभाले पारित गरेको छ।

समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। स्वीकृत बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।