अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु भएको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

देउवा पक्षीय (संस्थापन इतर) समूहद्वारा आयोजित वडा अधिवेशनका अवसरमा एक अपिल जारी गर्दै पूर्वसभापति देउवाले देशभरका छ हजार सात सय ४३ वटै वडामा विधि र प्रक्रिया पूरा गरी अधिवेशन सफल पार्न अनुरोध गरेका हुन्।

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि काँग्रेसले आठ दशकदेखि अभूतपूर्व बलिदान र सङ्घर्ष गरेको स्मरण गराउँदै उनले यो महाधिवेशन पार्टीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गरे।

अपिलमा देउवाले भनेका छन्:“म तमाम नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता साथीहरूलाई आजदेखि देशभरका ६,७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरी सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भई सम्पन्न गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।”

नेपाली काँग्रेसको महाधिवेशन तयारीका क्रममा दुई पक्षबीच फरक-फरक कार्यतालिका सार्वजनिक भएको छ। संस्थापन पक्षले यही असोज १८ गतेदेखि महाधिवेशन सुरु गर्ने जनाएको छ भने देउवा नेतृत्वको संस्थापन इतर पक्षले आगामी मङ्सिर २१ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको छ।