काठमाडौँ उपत्यकामा अवैध लागुऔधष खैरो हेरोइनको कारोबार गरिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा लमजुङको बेसीशहर नगरपालिका–२ घर भएका २७ वर्षीय विक्रम गुरुङ र भारत पश्चिम बंगालकी ५० वर्षीया प्रिया भुजेल रहेका छन्।
ब्युरोको प्रहरी टोलीले यही असोज १३ गते चन्द्रागिरि नगरपालिका–७, सतुंगलबाट विक्रम गुरुङलाई २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र ७ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा भारतको सिलगुढीबाट काठमाडौँ उपत्यकामा खैरो हेरोइन भित्र्याएर बिक्री वितरण गर्दै आएकी मुख्य आपूर्तिकर्ता प्रिया भुजेलको संलग्नता खुलेको थियो। त्यसलगत्तै खटिएको प्रहरी टोलीले असोज १४ गते चन्द्रागिरि–१२ बाट उनलाई १८२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट कुल २१० ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, ७ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरेको छ।
कारागारबाट फरार प्रतिवादी प्रहरीका अनुसार पक्राउ परेका विक्रम गुरुङ यसअघि पनि लागुऔषध कारोबारमै संलग्न पुराना अभियुक्त हुन्। उनी २०८१ असोज २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परी जगन्नाथ देवल (केन्द्रीय कारागार) मा थुनामा रहेका थिए।
अनुसन्धानका क्रममा उनी जेनजेड आन्दोलनका क्रममा कारागारबाट फरार भएको खुलेको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔधष नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























